बालुवाटारमा वामदेव गौतमले ओलीलाई भने, ‘माधवजीहरूले गलत गर्नुभयो अब म तपाईंसँगै रहन्छु’

पार्टी एकता अभियान संचालन गर्दै आएका नेकपा एमालेका उपाध्यक्ष वामदेब गौतमले अब आफुले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई साथ दिने बताएका छन् । शुक्रवार वालुवाटारमा भएको एमाले केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन पुगेका गौतमले यस्तो बताएका हुन् । उनले माधव कुमार नेपाल र उनको समुहले गलत गरेको भन्दै टिप्पणी समेत गरे ।

जुन पार्टीमा छ सोही पार्टी नेता प्रधानमन्त्री हुँदा विपक्षमा मतदान गर्न नहुने उनको तर्क थियो । असहमति भए राजिनामा दिएर मात्र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुपर्ने उनको सुझाव थियो । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा मन्तब्य राख्दै नेता गौतमले एउटै पार्टीमा रहेर आफ्नै अध्यक्ष र प्रधानमन्त्री विरूद्ध हस्ताक्षर गर्नु गलत भन्दै नेपाल पक्षको आलोचना गरेका थिए ।

‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै हस्ताक्षर गर्थेँ। माधवजीहरूले गलत गर्नुभयो। आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा यस्तो गर्नु हुन्थेन,’ गौतमको भनाई उदृत गर्दै एक एमाले नेताले भने, ‘अब मैले प्रधानमन्त्रीको साथ छोड्दिनँ। म यहाँबाट खुशी भएर जान्छु।’

यसअघिका पार्टी बैठकमा अध्यक्ष ओलीको कार्यशैली ठिक नभएको भन्दै उनी बैठकमा उपस्थित भएका थिएनन् । ओली र नेपाल दुवै पक्षले गरेका राजनीतिक गतिविधि गलत भन्दै उनले दुवैले पार्टी फुटाउने कामलाई प्रश्रय दिएको बताउँदै आएका थिए ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी एकता भंग गरिदिएपछि ओलीले गरेका एकलौटी निर्णयमा गौतम असन्तुष्ट बनेका हुन् । उनले नेपाल पक्षलाई नयाँ पार्टी गठन गरे आफुले साथ दिने सार्वजनिक अभिब्यक्ति पनि दिएका थिए ।

Post Comment