कर्मकाण्ड गर्ने पुरोहित यस्तो हुनु पर्छ भनेर शास्त्रमा लेखिएको छ

कर्मकाण्ड सनातन वैदिक संस्कृतिको अभिन्न अंग हो । हिन्दू धर्मका कुनै पनि उत्सव पूजापाठ एवं कर्मकाण्डविना पूर्ण हुँदैनन् । श्रेष्ठ तथा योग्य आचार्य एवं पुरोहितविना कर्मकाण्ड सम्पन्न हुन असम्भव हुन्छ । कर्मकाण्ड गराउने आचार्य तथा पुरोहित कस्तो हुनुपर्छ भनेर शास्त्रले बताएको छ । शास्त्रअनुसार अयोग्य आचार्य तथा पुरोहितले गराएको कर्मकाण्ड निष्फल हुन्छ भने शास्त्रोचित पुरोहितद्वारा गराइएको कर्मकाण्डले इच्छित सफलता सुनिश्चित गराउँछ ।

शास्त्रले ब्राह्मणलाई मात्र कर्मकाण्ड गराउने अधिकारी मानेको छ । केवल ब्राह्मण कुलमा उत्पन्न हुँदैमा ऊ कर्मकाण्ड गराउन योग्य हुन्छ भन्ने छैन । कर्मकाण्ड गराउने ब्राह्मणका लागि शास्त्रले केही मर्यादा तथा नियम सुनिश्चित गरेको छ । त्यस्ता शास्त्रीय नियमलाई पालना गर्ने ब्राह्मण मात्रै कर्मकाण्ड गराउन योग्य हुन्छ । त्यस्ता शास्त्रोचित ब्राह्मण फेला परेनन् भने मात्र ब्राह्मण कुलमा जन्मिएका ब्राह्मणबाट कर्म गराउन सकिन्छ ।

शास्त्रअनुसार तिलक, शिखा एवं जनै लगाउने, त्रिकालसन्ध्या गर्ने, नियमित गायत्री जप गर्ने तथा शुद्ध रूपले मन्त्रोच्चारण गर्ने ब्राह्मण पौरोहित्यका लागि उत्तम मानिएको छ । यो पुरोहितको आधारभूत योग्यता हो । यसबाहेक शास्त्रमा श्रेष्ठ पुरोहितको योग्यता वर्णन गर्दै भनिएको छ – काम क्रोध विहीनश्च पाखण्ड स्पर्श वर्जितः । जितेन्द्रियः सत्यवादी सर्व कर्म प्रशस्यते ।।

अर्थात् कर्मकाण्ड गराउने पुरोहित कामक्रोध आदि विकारले रहित हुनुपर्छ । उसमा पाखण्ड एवं छलकपट पनि हुनु हुँदैन । पुरोहित जितेन्दि्रय अर्थात् इन्द्रियमाथि नियन्त्रण गरेको हुनु आवश्यक छ । साथै पुरोहित सत्यवादी अर्थात् सदैव सत्य बोल्ने व्यक्ति हुनु आवश्यक छ । शास्त्रअनुसार उपर्युक्त गुणहरूले युक्त ब्राह्मण मात्रै कर्मकाण्ड गराउनका लागि उत्तम अथवा श्रेष्ठ मानिन्छ ।

Post Comment