ज्ञानको खोजी आफै भित्रबाट हुन्छ भन्ने जीवन बदल्ने कुरा शास्त्रमा यस्तो छ

लेखनाथ पौड्याल भन्छन् : नजा नजा दुस्तर भासमा नजा । म भित्र छु बाहिर छैन क्यै मजा ।।

ज्ञानीहरू निरन्तर सत्वमा स्थित रहन्छन् । ज्ञानी को हुन् त ? आफू ज्ञानी हो कि होइन भनी जान्न आफूलाई नै हेरौँ, मन आत्मामा वा आफैंसँग सन्तुष्ट छ कि बाहिर बाहिर भट्किन्छ ? यसबाट नै को कति ज्ञानी छ त्यो थाहा हुन्छ । जो व्यक्ति ज्ञानमार्गमा यात्रा गर्दछ उसले ढिलोचाँडो अवश्य पनि लक्ष्य प्राप्त गर्छ । जब कसैको बुद्धिले ज्ञानको कुरा ग्रहण गर्दैन त्यतिबेला आप्त पुरुषले उसलाई कर्मयोग, भक्तियोग तथा ज्ञानयोग आदि अधिकारी भेदअनुसार वा उसको क्षमता के कुरामा छ भन्ने बुझेर सोही उपायद्वारा मन शुद्ध पार्ने उपदेश दिन्छन् । यसरी ज्ञानलाई नै लक्ष्य मानेर अधिकार अनुसार कर्मको उपदेश गर्नु युक्तिसंगत हुन्छ ।

जो व्यक्ति आफैंमा रमाएको छ र जो परमात्मामा मस्त छ, दुवै एकै हुन् । दुवैमा बालकमा जस्ता सहज कामना उठ्छन्-धेरै चिन्तन गर्दैनन् । आमाले पिटिन् भने पनि आमाकै काखमा लुटपुटिन्छन् । यही अवस्था ज्ञानी धक्तको हुन्छ । उनीहरूका लागि परमात्मा बाहेक अरू कुनै सहारा हुँदैन । शरीर ठूलो भए पनि स्वभावले बालकझैं हुन्छ भक्त । ठूलो बालक हुन्छ, ऊ खाना पनि आफैं खान्छ, आमाले उसको विशेष चिन्ता गर्दिनन् । सानो बच्चा हो, उसको खानपान, पहिरन आदि सबै कुराको चिन्ता भगवान्रूपी माताले गर्छिन् ।

जो सात्विक नभएर रज वा तमोगुणी छ, त्यस्ताबाट ज्ञान सदैव टाढै रहन्छ । जब कसैले कमना छोड्छ त्यतिखेर प्रज्ञा स्थिर हुन्छ तर छुट्न सक्दैन । यसका लागि कर्म योगको साधन बताइएको छ जुन कर्मयोगबाटै सिद्ध हुन्छ, जसलाई स्थितप्रज्ञ भनिएको छ । कसैको बुद्धि तीक्ष्ण हुन्छ भने कसैको बोधो । सामान्य व्यवहार वा सांसारिक ज्ञान बुद्धिभित्रै पर्ने कुरा हो जुन वास्तविक अर्थमा ज्ञान होइन । अनुभवबाट वास्तविक ज्ञान हुनसक्छ । यसबाट सत्यको अनुभव हुन्छ र असत्यको साथ छुट्छ । भगवान् कृष्णले गीतामा अर्जुनलाई सम्झाएका छन् कि हे अर्जुन ! ज्ञानी भक्त बालकजस्तो लोभरहित, वासनारहित एवं सरल सवाभाविक हुनुपर्छ । तर उसभित्र सबै कामना सुषुप्त रूपमा विद्यमान हुन्छ जुन ठूलो हुँदै जाँदा जागृत हुन थाल्छ । यसैले ज्ञान प्राप्त गरेर निर्विकार हुनेहरू स्थितप्रज्ञ हुन्छन् भने अज्ञानका साथ निर्विकार हुनेहरू बालकजस्ता हुन्छन् ।

बोल्न त सुगा, मैना आदि पनि बोल्छन् तर बोली नै सबैथोक होइन । बोलिमा शान्ति छ भने ऊ शान्ति पुरुष हो, तेज छ भने तेजस्वी । जब केही क्रोध एवं क्षोभका अवसरमा समेत शान्त रहनसक्छ भने ऊ वास्तविक रूपले शान्त कहलाउँछ, त्यतिबेला वास्तविक शान्ति बाँकी रहन्छ । बालक एवं ज्ञानीको विकासक्रम विपरीत हुन्छ । बालक जतिजति बढ्दै जान्छ विकार पनि उति उति बढ्छ भने ज्ञानी जतिजति विकार कम हुँदै जान्छ । तलदेखि माथि एवं माथिदेखि तल दुवै क्रम चल्छ । हामी सानो छँदा ठूलाबडाले भन्थे, पहिले पढ अनि खान पाउँछौ । त्यतिखेर आफूलाई लाग्थ्यो, पहिले खाऊँ अनि पढूँला नि , तर अब थाहा भयो कि पढेपछि मात्र खाना मिल्दो रहेछ । अर्थात् क माने कमाउने अनि ख माने खाने । पहिले कर्मयोग अनि ज्ञानयोग ।

रागद्वेष छँदाछँदै पनि जसले आफूलाई ज्ञानी ठान्छ, त्यो सकाम कर्म गर्नेहरूभन्दा पनि तल्लो स्तरको हुन्छ । शुद्ध अन्तःकरणले जे गर्छ, त्यो ठीक हुन्छ । जो आफ्नो मर्जीमा अडिन्छ, आफ्ने मर्जीमा चल्छ ऊ साधक हो । सिद्धमा यस्तो प्रक्रिया स्वतः हुन्छ भने साधक उसैको पछिपछि लागेको हुन्छ किनभने साधकलाई पनि ज्ञानी हुनु छ ।

Post Comment