यहि कारणहरुले फेरि मान्छे संयुक्त परिवारमा लोभिदैछन्

कुनैबेला एउटै छानोमुनी आमाबुवा, हजुरबा-हजुरआमा, काकाकाकी, दाजुभाई, भाउजु-बुहारी, भाई बहिनी, छोराछोरी, नाता-नातिनी सबै अटाउँथे । हजुरबा-हजुरआमा आस्थाका धरोहर थिए । श्रद्धाका प्रतिमूर्ति थिए । उनीहरुले नै परिवारलाई सही निर्देशन र संस्कारमा डोहोर्‍याउँथे । भाउजु-बुहारी परिवारको मियो थिए । उनीहरुकै कारण घर उज्यालो हुन्थ्यो । साना लालाबाला घरका सौन्दर्य थिए । उनीहरुको चकचक, नोकझोंक, उत्साहले घरको माहौल रमाइलो बनाउँथ्यो । दाजु-भाईहरु घरका भर थिए । उनीहरुकै आड-भरोसमा परिवारले सुरक्षित अनुभव गथ्र्यों ।

संयुक्त परिवारको आफ्नै शक्ति हुन्छ । संयुक्त परिवारमा एकअर्काको आडभरोसा रहन्छ । खुसीमा रमाउन र दुःखमा साथ दिने परिवारका सदस्यहरु हुन्छन् । हजुरआमा-हजुरबाको दैनिकी पनि पट्यारलाग्दो हुँदैन । उनीहरुले आफ्ना सन्ततीसँग घुलमिल भएर रमाइलो दिनहरु बिताउन पाउँछन् । यसैगरी साना बालबालिकाले पनि आफ्ना दौतरी पाउँछन् । आफुजस्तै साथीसंगीसँग खेल्दै हुर्कने वातावरण पाउँछन् । अर्कोतिर हजुरआमा-हजुरबाको स्नेहमा रमाउन पाउँछन् ।

संयुक्त परिवारमा बस्नुको अनेक फाइदा छन् । संयुक्त परिवारमा बस्दा सुरक्षाको अनुभूति हुन्छ । आफ्नो समस्या हल गर्नका लागि अरु सदस्यको साथ रहन्छ । एकअर्कासँग दुःख र सुख साटेर बाँच्न सकिन्छ । संयुक्त परिवारको खास सौन्दर्य भनेको त हजुरबा-हजुरआमादेखि नाता-नातिनासम्म एकै छानोमुनी रमाउन पाउनु हो । एकै भान्सामा पाकेको खान पाउनु हो । हरेक परिवारको आफ्नै रीतिथीति हुन्छ, चालचलन हुन्छ, परम्परा हुन्छ । यीनै कुराले परिवारलाई एकढिक्का बनाई सौहार्द्धपूर्ण ढंगले अगाडि बढाइरहेको हुन्छ । यसरी संयुक्त परिवारमा बस्दा पारिवारिक संस्कार पनि एक पुस्ता देखि अर्को पुस्तामा हस्तान्तरण हुँदै जान्छ । पारिवारिक संस्कारले आफ्ना सन्ततीलाई सही मार्गमा डोहोर्‍याउने भएकाले यसलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ । यद्यपि अहिले धेरैजसोले आफ्नो पारिवारिक संस्कारलाई उपेक्षा गर्दै गएको पाइन्छ । त्यही कारण नयाँ पुस्ता पथभ्रष्ट बन्दै गएका छन् ।

खुम्चदैछ परिवार : अहिले परिवारको आकार खुम्चदैछ । संयुक्त परिवार टुक्रदैछ । परिवारका सदस्यहरु आपसमा अलग हुँदैछन् । एउटा दम्पतीको एउटा परिवार बन्दैछ । एकअर्काबीचको सम्बन्ध, संवाद, सरसहयोग धरापमा पर्दैछ । अहिले आमाबुवा अलग छन्, छोराछोरी अलग । हजुरबा, हजुरआमा एक्लो छन् । बालबच्चा पनि एक्लो । आफन्त, इष्टमित्र, नातेदारबीच हार्दिकतापूर्वक सम्बन्ध छैन । केवल औपचारिकतामा सीमित छ ।

छोरा-बुहारी घरबाट अलग भएका छन् । उनीहरु सानो परिवारको मोहमा तानिएका छन् । मूल घर वा मूल परिवारबाट अलग भएर छुटै परिवारको रचना गरिरहेका छन् । त्यसैगरी एक दम्पतीले एउटा मात्र सन्तान हुर्काइरहेका छन् । तीन जनाको एउटा परिवार । न श्रीमान्-श्रीमतीबीच भलाकुसारी गर्ने माहौल छ । न बच्चासँग कुराकानी गर्ने कोही साथी छ । उनीहरु पनि एक्ला-एक्लै छन् । न कुनै उत्सवमा खुसी साट्ने आफन्त छन्, न दुःख-बिराम, साह्रो-गाह्रोमा साथ दिने । सबै आ-आफ्नै मेलोमेसो मिलाउने चक्करमा एकलकाँटे भएका छन् । एकातिर दम्पतीलाई आफ्नो बच्चासँग खेल्ने, रमाउने समय छैन । धेरैजसोले बच्चालाई डे केयर सेन्टर, होस्टलमा पठाएका छन् । यसरी उनीहरु पनि एकअर्काबाट विमुख हुँदैछन् ।

Post Comment